

बुटवल । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनलाई लक्षित गर्दै शेरबहादुर देउवा समूहले प्यूठानमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट देवेन्द्र वर्माको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको छ। देउवा समूहले नियमित महाधिवेशनअन्तर्गत पालिका, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला तहका अधिवेशनहरू सञ्चालन गरिरहेको छ। सोही क्रममा प्यूठानमा पनि जिल्ला अधिवेशन आयोजना गरिएको हो।
अधिवेशनबाट उपसभापतिमा देविराम पुन र प्रमोद पोख्रेल चयन भएका छन्। त्यस्तै, सचिवमा दीपक केसी र कुमार श्रेष्ठ तथा सहसचिवमा गंगालाल विष्ट र माधव केसी चयन भएका छन्।
लुम्बिनी प्रदेशका सांसद रोज राणाको नेतृत्वमा रहेको टोली देउवा समूहका अधिवेशनसम्बन्धी गतिविधिमा सक्रिय रहँदै आएको छ। प्यूठानमा सम्पन्न अधिवेशन पनि सोही समूहको संगठन विस्तार तथा महाधिवेशन तयारीको निरन्तरता भएको बताइएको छ।