इरानको चेतावनी : पुनः आक्रमण भए खाडीका सात देशका तेल प्रशोधन केन्द्र र एआई पूर्वाधार निशानामा

इरानको चेतावनी : पुनः आक्रमण भए खाडीका सात देशका तेल प्रशोधन केन्द्र र एआई पूर्वाधार निशानामा
काठमाडौं । इरानले अमेरिका र इसराइलले पुनः आक्रमण गरे खाडी क्षेत्रका सात वटासम्म देशमा रहेका तेल प्रशोधन केन्द्र, समुद्रमुनिका सञ्चार केबल, डेटा सेन्टर र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारमा हमला गर्ने चेतावनी दिएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले यस्तो चेतावनी दिएको द गार्डियन ले जनाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार उनले इरानको आर्थिक जीवनरेखामाथि आक्रमण भइरहँदा त्यस्ता आक्रमण सम्भव बनाउने आर्थिक संरचना पनि सुरक्षित रहन नसक्ने बताएका छन्।

इरान र अमेरिकाबीचको द्वन्द्व अन्त्य गर्न वार्तामा संलग्न कट्टरपन्थी नेता मोहम्मद गालिबाफका सल्लाहकार मेहदी मोहम्मदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सैद्धान्तिक रूपमा इरानमाथि आक्रमण गर्न सहमत भएको दाबी गरेका छन्। तर, आक्रमण सफल हुने सुनिश्चितता भने उनीहरूले गर्न नसक्ने उनको भनाइ छ।

मोहम्मदीले आगामी द्वन्द्वलाई इरानले आफ्नो अस्तित्वमाथिकै खतराका रूपमा लिएको बताए। उनका अनुसार दुई वर्षभित्र तेस्रो युद्धको अवस्था आउनु इरानका लागि अस्तित्वसँग जोडिएको विषय हो।

उनले इरानको रणनीतिबारे भने, “हाम्रो रणनीति अब कुनै पनि सीमारेखा नराख्ने हो।”

द्वन्द्वको अवधि र भौगोलिक दायरा दुवै विस्तार हुन सक्ने चेतावनी दिँदै उनले युद्ध शत्रुले अनुमान गरेभन्दा लामो र व्यापक हुने बताएका छन्।

इरानले यस्तो सैन्य कारबाही गर्न सक्ने क्षमता तथा चीन वा रुसबाट प्राप्त हुन सक्ने अनौपचारिक सहयोगलाई अमेरिकाले युद्ध पुनः सुरु गर्ने निर्णय गर्दा महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

इरानमाथि नयाँ आक्रमणको तयारी भइरहेको दाबी

अमेरिकी सञ्चारमाध्यमका पछिल्ला रिपोर्टअनुसार अमेरिकी सैन्य सल्लाहकारहरूले अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमाथि गर्न सक्ने सम्भावित आक्रमणका लागि लक्ष्यहरूको विस्तृत सूची तयार पारेका छन्। उक्त आक्रमण नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि हुन सक्ने रिपोर्टमा उल्लेख छ।

इरानका क्षेप्यास्त्र केन्द्र, तेल पूर्वाधार र आणविक केन्द्र सम्भावित निशानामा पर्न सक्ने बताइएको छ। यद्यपि, नयाँ आक्रमणको निर्णय भइसकेको वा त्यसको मिति निश्चित भएको स्वतन्त्र पुष्टि छैन।

यसैबीच, इरान, यमन र प्यालेस्टाइनसँग सम्बन्धित संकटबारे साझा रणनीति तय गर्न युरोपका तीन देशसहित टर्की, साउदी अरब, पाकिस्तान र इजिप्टका विदेशमन्त्रीहरू शुक्रबार इस्तानबुलमा बैठक बस्ने कार्यक्रम छ। तेहरान र वासिङ्टन दुवैले अर्को युद्धको सम्भावनालाई गम्भीरतापूर्वक लिन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

हर्मुज जलडमरूमध्यमा जहाजमाथि आक्रमण भएको दाबी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसैनिक बलले बुधबार हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोजेका चारवटा व्यावसायिक जहाजमा एकैसाथ हमला गरेको दाबी गरेको छ। ती जहाजले एउटा जहाजबाट अर्को जहाजमा तेल स्थानान्तरण गरिरहेको बताइएको छ।

आईआरजीसीले उक्त जलडमरूमध्यमा बिछ्याइएका बारुदी सुरुङका कारण थप तीनवटा जहाजमा क्षति पुगेको पनि दाबी गरेको छ। तर, यति धेरै जहाजमा हमला भएको वा क्षति पुगेको विषय स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

अमेरिका र इसराइलले इरानमाथि पुनः संयुक्त आक्रमण गर्न सक्ने समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत बढेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११३.४ अमेरिकी डलर पुगेको छ, जुन पछिल्लो समयकै उच्च मूल्य भएको समाचारमा उल्लेख छ।

मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति विस्तारको तयारी

अमेरिकी राष्ट्रपति ट्रम्प पछिल्लो चार महिनामा सातपटक इरानमाथि पुनः आक्रमण गर्ने योजनाबाट पछि हटिसकेको समाचारमा उल्लेख छ। तर, कूटनीतिक वार्ता निष्कर्षमा पुग्न नसकेपछि अमेरिकी अधिकारीहरूले नयाँ सैन्य अभियानको सम्भावनाबारे जानकारी दिन थालेका छन्।

अमेरिका र इसराइलले आक्रमणको चेतावनी जारी राखेकै बेला संयुक्त सैन्य अभ्यासलाई पनि निरन्तरता दिएका छन्। उक्त अभ्यासमा इराकमाथिको हवाई उडानसम्बन्धी अभ्याससमेत समावेश रहेको बताइएको छ।

एक्सियोस का अनुसार यसै साता दर्जनौँ इसराइली विमान इरानको सीमाक्षेत्र नजिकै उडेका थिए। त्यस्तै, मध्य इरानको अराकस्थित ठूलो आल्मुनियम कारखानामा लागेको भीषण आगलागीले इरानभित्रै तोडफोडका गतिविधि भइरहेको हुन सक्ने आशंका उत्पन्न गरेको छ। यद्यपि, आगलागीको कारणबारे स्पष्ट पुष्टि भएको छैन।

इसराइली प्रधानमन्त्री नेतान्याहुले सोमबार अमेरिकी रक्षामन्त्री पिट हेगसेथसँग इसराइलमा भेटवार्ता गरेका थिए। उनीहरूबीच सम्भावित संयुक्त आक्रमणको समय र उद्देश्यका साथै त्यसले नेतान्याहुको पुनःनिर्वाचनको सम्भावनामा पार्न सक्ने राजनीतिक प्रभावबारे छलफल भएको रिपोर्टमा उल्लेख छ।

रिपोर्टअनुसार नेतान्याहुले इरानले पहिले आक्रमण गरे आफूलाई सहज हुने धारणा हेगसेथसमक्ष राखेका थिए।

अमेरिकाले नोभेम्बरको सुरुसम्म मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने तयारी गरेको छ। ट्रम्पको योजनाअनुसार मध्यपूर्वमा तीनवटा विमानवाहक युद्धपोत, हजारौँ मरीन सैनिक, लडाकु विमान र विशेष सैन्य बल तैनाथ गर्ने तयारी छ।

जनवरीमा नयाँ अमेरिकी संसद् र सिनेटका सदस्यहरूले कार्यभार सम्हाल्नुअघि उक्त सैन्य तयारी पूरा गर्ने लक्ष्य राखिएको समाचारमा उल्लेख छ।