संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा कांग्रेसः सभापति देउवा

संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा कांग्रेसः सभापति देउवा

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा कांग्रेस केन्द्रित रहेको बताउनुभएको छ ।

सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दाबी समेत गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग आज पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको भेटवार्तामा पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताउनुभएको भेटमा सहभागी कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

मोगेन्स जोनसन नेतृत्वको डेनिसका सांसदहरुको प्रतिनिधिमण्डलले त्यस अवसरमा कांग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिका बारेमा पनि चासो व्यक्त गरेका थिए । सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति पनि आभार व्यक्त गर्नुभयो ।