

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आज असोज २९ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले वार्षिक ६ प्रतिशत ब्याजदरमा सात वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ जारी गर्न लागेको हो।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ। यसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्रमा आवेदन दिने म्याद छिटोमा कात्तिक १० गते र ढिलोमा कात्तिक १२ गतेसम्म रहनेछ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत वा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
ऋणपत्रलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी सिंगल ए प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले बैंकले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न पर्याप्त सुरक्षा रहेको संकेत गर्छ। ऋणपत्रबाट प्राप्त ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टी गरी भुक्तानी गरिने बैंकले जनाएको छ।