आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं, ४ मंसिर । ‘सुखी नेपाली, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ भन्ने मूल नाराका साथ आज अन्तरराष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा अन्तरराष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिएको छ ।

नेपालसहित विश्वका १९३ राष्ट्रहरूले यो महासन्धिलाई अनुमोदन गरिसकेका छन् । बालबालिकाहरूको आधारभूत आवश्यकताहरु पूरा गरी खुसी, शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको केन्द्रीय बालकल्याण समिति सूचना अधिकृत रामबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँले अन्तरर्राष्ट्रिय बाल दिवसको मुख्य उद्देश्य भनेकै बालबालिकाहरु माथि भइरहेको हिंसा र दुव्र्यवहारहरुको निराकरण गरी उनीहरूको व्यक्तित्व विकास नरोकिने खालको सहज परिस्थितिको वातावरण सिर्जना गरिदिनु रहेको बताउनुभयो । दिवसको अवसरमा नेपालमा बालबालिकाको स्थिति २०७५ नामक वार्षिक प्रतिवेदन बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।