नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ भारतभर रिलिज गर्दै एए फिल्म्स

नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ भारतभर रिलिज गर्दै एए फिल्म्स

काठमाडौँ । नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने भएको छ। चलचित्रले भारतको प्रतिष्ठित वितरण कम्पनी ‘एए फिल्म्स’सँग भारतमा प्रदर्शनका लागि सम्झौता गरेको निर्माण पक्षले जनाएको छ।

धिराज राजवंशीको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ४ गते (नोभेम्बर २०) नेपाल तथा भारतमा प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको भारत प्रदर्शनका लागि मुम्बईमा ‘एए फिल्म्स’का संस्थापक तथा वितरक अनिल थडानीसँग औपचारिक सम्झौता भएको हो।

‘एए फिल्म्स’ले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजीएफ : च्याप्टर २’, ‘पुष्पा’ र ‘कान्तारा’लगायतका चलचित्र वितरण गरिसकेको निर्माण पक्षले जनाएको छ। भारतमा चलचित्र प्रदर्शनबारे एए फिल्म्सका संस्थापक अनिल थडानीले भाषा र भूगोलको सीमाभन्दा बाहिर उत्कृष्ट कथावस्तुलाई भारतीय दर्शकमाझ पुर्‍याउने उद्देश्य रहेको बताए।

‘हिमालयन गोल्ड’को कथावस्तु भारतीय दर्शकले पनि अनुभव गर्नुपर्ने उल्लेख गर्दै थडानीले चलचित्रको प्रतिभाशाली टोलीसँग जोडिन पाउनु आफ्नो कम्पनीका लागि खुसीको विषय भएको बताए। उनले भाषाको सीमाभन्दा माथि उठेर भारतीय दर्शकले चलचित्रलाई रुचाउने विश्वाससमेत व्यक्त गरे।

भारतभर प्रदर्शनको अवसर पाएकोमा निर्देशक राजवंशीले खुसी व्यक्त गरेका छन्। उनले यो उपलब्धि आफ्नो चलचित्रसँगै नेपाली चलचित्र उद्योगका लागि पनि महत्वपूर्ण रहेको बताए।

‘यो मेरो लागि मात्र नभई सम्पूर्ण नेपाली चलचित्र उद्योगकै लागि कति ठूलो कुरा हो भनेर म शब्दमा वर्णन गर्न सक्दिनँ। ‘हिमालयन गोल्ड’को सम्भावनालाई विश्वास गरेर भारतभर प्रदर्शनको अवसर दिनुभएकोमा म अनिल थडानी र ‘एए फिल्म्स’प्रति साँच्चै आभारी छु,’ उनले भने।

भारतमा चलचित्र प्रदर्शन हुनुले ‘हिमालयन गोल्ड’लाई फराकिलो दर्शकसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै राजवंशीले पहिलो चलचित्रमै यस्तो अवसर पाउनु आफ्ना लागि विशेष उपलब्धि भएको बताए।

चलचित्रमा सुनिल थापा, राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्यको मुख्य भूमिका रहेको छ। निर्माण पक्षका अनुसार यो अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हो।

नेपाली चलचित्रमा लामो समय योगदान गरेका थापाको अन्तिम चलचित्रलाई नेपालसँगै भारतका दर्शकमाझ पुर्‍याउनु उनको योगदानप्रतिको सम्मान हुने निर्देशक राजवंशीले बताए।

चलचित्रको ट्रेलर आगामी सोमबार सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ। चलचित्र प्रदर्शनका लागि अब दुई महिनाभन्दा कम समय बाँकी रहेको जनाउँदै निर्माण टिमले नेपाल तथा भारतका दर्शकलाई चलचित्र हेर्न आग्रह गरेको छ।