

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैं, तिहार तथा छठ पर्वको पूर्वसन्ध्यामा मधेशी एकता समाज, यूएईले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ। दुबईको जबिल पार्कमा आयोजित कार्यक्रममा समाजको यूएई च्याप्टरका पदाधिकारी तथा सदस्यहरूले आगामी चाडपर्वका अवसरमा एकआपसमा शुभकामना आदान-प्रदान गरेका थिए।
कार्यक्रमका क्रममा यूएई च्याप्टरका पदाधिकारीहरूले मातृभूमि नेपालका रसुवा र नुवाकोट जिल्लामा भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेका थिए।
उनीहरूले समाजको अन्तर्राष्ट्रिय समितिको पहल तथा संयोजनमा तराई–मधेसका विभिन्न जिल्लामा बाढीपीडितका लागि भइरहेको राहत वितरण कार्यबारे समेत छलफल तथा समीक्षा गरेका थिए।
कार्यक्रममा मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा. रविन्द्रकुमार यादवले संस्थाको उद्देश्य, हालसम्म समाजका विभिन्न व्यक्तिलाई प्रदान गर्दै आएको सहयोग तथा आगामी दिनमा संस्थालाई अझ मजबुत र प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए।
उनले एकता, सहकार्य, आपसी सहयोग र सामाजिक उत्तरदायित्वलाई संस्थाको मुख्य मन्त्रका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
त्यस्तै यूएई च्याप्टरका महासचिव आदित्यकुमार अटलका अनुसार संस्थालाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउने विषयमा पनि कार्यक्रममा छलफल भएको थियो।
कार्यक्रममा समाजको यूएई शाखाका पूर्वअध्यक्ष धर्मेन्द्र गोहिबार, निवर्तमान अध्यक्ष रोशन देव, वर्तमान अध्यक्ष शैलेन्द्र यादव तथा संस्थापक सदस्यहरू लालबाबु, तनवीर आलमलगायत पदाधिकारी तथा सदस्यहरूले आफ्नो धारणा राखेका थिए।
यसैबीच, संस्थाको आगामी कार्यलाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले आदित्यकुमार अटललाई सर्वसम्मत रूपमा मधेशी एकता समाज यूएई शाखाको महासचिवको जिम्मेवारी प्रदान गरिएको छ।