

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंकले घटेर २ हजार ६०३.७१ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन सोमबार घटेको नेप्सेले मंगलबार पनि ओरालो यात्रा जारी राखेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स १.०१ अंक, फ्लोट इन्डेक्स ०.६१ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ अंकले घटेका छन्।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ३६३ स्टकको ५१ हजार २७४ पटकको कारोबारबाट ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक ९.१८ प्रतिशतले बढेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढी तथा ७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेञ्चर २०९० को मूल्य करिब साढे ६ प्रतिशतले बढेको छ।
यता कारोबारमा आएको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाइ मूल्य सर्वाधिक ५.४४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। कम्पनीको २२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको १७ करोड रुपैयाँभन्दा बढी तथा सिद्धार्थ बैंकको साढे १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको सूचक बढेका छन् भने ११ उपसमूहका सूचक घटेका छन्। निर्जीवन बीमा र अन्य उपसमूहका सूचक सामान्य बढेका हुन्। यस दिन व्यापार उपसमूहको सूचक सर्वाधिक १.८७ प्रतिशतले घटेको छ।