‘बिना बर्दीका पुलिस हामी’ सार्वजनिक

‘बिना बर्दीका पुलिस हामी’ सार्वजनिक

बिना बर्दीका पुलिस हौं, असल नागरिक
हाम्रो एउटै मूल मन्त्र देशको गरौं हित

बोलको राष्ट्रियताको भावनाले सजिएको गीति एल्बम् संस्कृतिविद् सत्यमोहन जोशी र प्रहरी महानिरिक्षक सर्बेंन्द्र खनालले विशेष कार्यक्रमका बिच लोकार्पण गरेका छन् ।
गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचना र वरिष्ठ संगीतकार भुपेन्द्र रायामाझीको संगीत रहेको गीतमा गायक विजयनारायण मानन्धरको स्वर रहेको छ । गत महिनादेखि नेपाल प्रहरीले अघि सारेको समुदाय साझेदारी अभियानका लागि बिना बर्दीका पुलिस हामी नामको गीतको भावले सघाउ पुर्याउने भन्दै गीतमा अपनत्व रहेको प्रहरी महानिरीक्षक खनालले बताए ।

नेपाल पुलिस क्लबको सभा हलमा आयोजित गीत लोकार्पण कार्यक्रमको अध्यक्षता समेत गरेका खनालले गीत संगीतको माध्यमले नागरिक तहमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे । उनले प्रहरीले विगतमा गरेका कमिकमजोरीलाई नागरिक तहसंग हातेमालो गर्दै सच्याउँदै जाने बताए ।

‘गीतमा शक्ति हुन्छ, यसले समाजलाई वदल्न सघाउँछ’, उनले भने, ‘नागरिकसंगको सहकार्यबाट प्रहरीबाट हुने विगतका कमिकमजोरी सुधार्दै लैजानेमा विश्वास दिलाउँछु ।’ कयौं पटक सभासमारोहमा सहभागी हुने भएपनि गीत लोकार्पण कार्यक्रमको अध्यक्षता गरेको आफ्नो नयाँ अनुभव रहेको खनालको भनाई थियो । उनले लोकार्पण गरिएको गीत मुलुकभरका प्रहरी निकायमा महत्वका साथ प्राथमिकता दिने जानकारी दिए ।

यसैगरी संस्कृतिविद् जोशीले गीत संगीतको माध्यमले समाज रुपान्तरण गर्न सक्ने बताए । राष्ट्रियता झल्काउँने गीतले नागरिकको दायित्व वोध समेत गराएको जोशीले उल्लेख गरे । थोरै शब्दमा धेरै भाव बोक्ने गीत जीवन्त हुने उनको तर्क थियो । कार्यक्रममा गीतकार तथा पत्रकार अधिकारीको रचनाको बिना बर्दीका पुलिस हामी बोलको गीतलाई गायक मानन्धरले प्रत्यक्ष गाएका थिए । यसैगरी सो अवसरमा गीतकार अधिकारीले आफ्नो गीत संग्रह ‘पहिलो स्पर्श’ मा समावेश रचना संगीतबद्ध गरिएको उल्लेख गरे ।

श्रमजीवि पत्रकारको पक्षमा तयार पारिएको पहिलो गीत कमलजीवि सहित दर्जन गीत बजारमा ल्याइसकेका अधिकारीले आगामी दिनमा पनि जीवन्तता दिने गीत रचना जारी राख्ने बताए । उनले विमोचन कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।