

काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेले बुधबार भने ओरालो यात्रा समातेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ६.३३ अंक, फ्लोट इन्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१९ अंकले घटेका छन्।
कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ७ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ३५२ स्टकको ५७ हजार ९४७ पटकको कारोबारबाट ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरको २ करोड १६ लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य १७५ रुपैयाँ बढेर १ हजार ३४१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।
यता फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशतले घटेको छ। अन्य घट्ने तथा बढ्ने स्टकको मूल्य परिवर्तन भने साढे ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र हिमालयन डिस्टिलरीको साढे २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
नेप्सेका १३ वटै उपसमूहको सूचक घटेका छन्। जीवन बीमा उपसमूह सर्वाधिक २.०४ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहका सूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।