

काठमाडौँ १ मंसिर । ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ । आजदेखि लागू हुने गरी माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार्य गरेको हो । यी ज्याकेटमा फ्लोरिसेन्ट पनि राखिएको हुन्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हाैँ ।
‘यातायात व्यवस्था ऐनमै चालले विशेष खालको पोसाक लगाउनुपर्ने व्यवस्था छ, त्यसैले नियम कार्यान्वयनमा मात्रै ल्याएका हौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने, ‘तोकिएको ड्रेस नलगाए कारबाही गरिनेछ ।’ तोकेको ज्याकेट नलगाउने चालकलाई पाँच सय जरिवाना भराइने एसएसपी पन्तले बताए ।
पहिलो दिन ५० देखि ७० प्रतिशत माइक्रोका चालक र सहचालकले नियम पालना गर्ने प्रहरी अनुमान छ । चालकहरूलाई एक हप्तासम्मको अवसर दिइनेछ ।
त्यसपछि पनि नियम नमाने कारबाही गर्ने योजना छ । ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र सेता रङका करिब ९ सय ठूला र नीलो रङका एक सय ७० साना माइक्रो छन् ।