

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि १ हजार ४ सय ६४ जनाको रोजगारी खुलेको छ। वैदेशिक रोजगार विभागका अनुसार १ हजार १ सय ३२ महिला र ३ सय ३२ पुरुष कामदार माग गरिएको हो। आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन विभागको वेबसाइटअन्तर्गत ferms.dofe.gov.np मार्फत दिन सकिनेछ।
छनोट भएका कामदारले मासिक ६ हजार ४ सय ४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली कानुनअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ।
कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ भने सातामा एक दिन बिदा पाउनेछन्। वार्षिक बिदा इजरायली कानुनअनुसार हुनेछ। कम्पनीले बस्ने व्यवस्था गरे पनि त्यसको खर्च कामदार स्वयंले व्यहोर्नुपर्नेछ। खानाको व्यवस्था भने कामदार आफैंले गर्नुपर्नेछ।