बाढीको विषम परिस्थितिमा इन्धनको मूल्य नबढाउने आयल निगमको निर्णय

बाढीको विषम परिस्थितिमा इन्धनको मूल्य नबढाउने आयल निगमको निर्णय

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणका लागि इन्धनको बिक्री मूल्य नबढाउने निर्णय गरेको छ।

भोटेकोशी नदीमा आएको असाधारण बाढीपछि उत्पन्न विषम परिस्थितिमा नागरिकलाई राहत पुग्ने गरी निगम सञ्चालक समितिले साबिककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो।

आईओसीबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा, डिजेलमा ४ रुपैयाँ ३३ पैसा, मट्टितेलमा १० रुपैयाँ १९ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ९६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ६२ पैसाले मूल्य बढेर आएको थियो।

तर, बाढीपहिरोबाट नागरिकले भोगिरहेको असहज अवस्थालाई मध्यनजर गर्दै निगमले भदौ १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी इन्धनको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको हो।

पोखरा र भैरहवा विमानस्थलका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धन ‘ब्रेक–इभेन पोइन्ट’मा बिक्री गरिने निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि सर्वसाधारणको सुविधाका लागि बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।