

रसुवा । भोटेकोसी नदीमा आइतबार बिहान पुनः बाढी आएपछि रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। भदौ १० गते आएको विनाशकारी बाढीबाट त्रसित स्थानीयमा फेरि बाढी आएपछि थप डरत्रास फैलिएको छ।
गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङका अनुसार बिहान करिब ३ः३० बजे ठूलो आवाजसहित बाढी आएको थियो। बाढीको आवाज सुनेपछि नदी तटीय क्षेत्रबाट टाढा रहेका धुन्चेवासीसमेत सुरक्षित स्थानका रूपमा अस्पताल क्षेत्र र खेलमैदानमा भेला भएका थिए।
अहिले नदीको बहाव घट्न थालेपछि स्थानीय आ–आफ्नो घरतर्फ फर्किन थालेका छन्।
बाढी आएको जानकारी पाएलगत्तै नुवाकोट प्रशासनसँग समन्वय गरिएको र नुवाकोट प्रशासनले समेत नदी आसपासका बस्तीमा सावधानी अपनाउन माइकिङ गरेको जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।
यसैबीच, आपत्कालीन अवस्थाका लागि धुन्चेमा तयारी अवस्थामा राखिएको नेपाली सेनाको हेलिकप्टर बाढी प्रभावित माथिल्लो नदी तटीय क्षेत्रमा अनुगमन तथा आवश्यक उद्धारका लागि उडेको छ। यद्यपि, पुनः आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।