

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा रहेका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्रिशूली, चिलिमे, रसुवागढी तथा अन्य जलविद्युत् आयोजना र सबस्टेसन क्षेत्रमा कार्यरत कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।
प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना सम्पर्कविहीन छन्। त्यस्तै, त्रिशूली ३ए जलविद्युत् केन्द्रको पावरहाउस मर्मत कार्यमा संलग्न ४५ कर्मचारी पनि सम्पर्क बाहिर रहेका छन्।
त्रिशूली ३बी आयोजनाको निर्माण तथा साइट क्षेत्रमा कार्यरत कर्मचारी र कामदार, चिलिमे जलविद्युत् केन्द्र, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न सबस्टेसनमा कार्यरत कर्मचारीसमेत सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ।
यस्तै, त्रिशूली २२० केभी ३बी सबस्टेसनमा ठेकेदारका तर्फबाट कार्यरत १६ कामदार पनि सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा आवागमन अवरुद्ध भएकाले सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे थप विवरण संकलन तथा खोजी कार्य जारी रहेको जनाइएको छ।