जसपाका सांसद काफ्लेलाई हटाउन सिफारिस

जसपाका सांसद काफ्लेलाई हटाउन सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपाल लुम्बिनी प्रदेश संसदीय दलले सांसद अम्बिका काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्य पदबाट हटाउन पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेको छ। प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै काफ्लेविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाउन सिफारिस गरेका हुन्। सोही दिन प्रदेशसभा सचिवालयलाई पनि उनलाई प्रदेशसभा सदस्यबाट हटाउन अनुरोध गरिएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा जसपा नेपालभित्र मतभेद देखिएको थियो। पार्टी केन्द्रको निर्देशनअनुसार काफ्लेले सरकारको विपक्षमा मतदान गरेकी थिइन् भने संसदीय दलका नेता पाण्डेयसहित तीन सांसदले मुख्यमन्त्री आचार्यलाई समर्थन गरेका थिए।

दलको निर्देशन उल्लंघन गरेको भन्दै काफ्लेसँग भदौ २ गते स्पष्टीकरण मागिएको तर उनले जवाफ नदिएको संसदीय दलले जनाएको छ। सोही आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार उनलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्य पदबाट हटाउने प्रक्रिया अघि बढाउने निर्णय गरिएको पत्रमा उल्लेख छ।

यता, पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका पाण्डेय, भण्डारीलाल अहिर र हेमा बेल्बासे केसीसँग भने पार्टी केन्द्रले २४ घण्टे स्पष्टीकरण मागिसकेको छ। लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँच जना सदस्य रहेका छन्।