

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १९.१३ अंकले घटेर २६ सयमुनि झरेको छ। आजको गिरावटसँगै नेप्से २ हजार ५९९ विन्दुमा कायम भएको छ।
यसअघि आइतबार नेप्से १०.६७ अंक घटेको थियो। सोमबार कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भयो।
आज ४७ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक घटेका छन्। जलविद्युत् समूह सर्वाधिक १.१९ प्रतिशत र निर्जीवन बीमा समूह १.१२ प्रतिशत घटेको छ।
समूहगत कारोबारमा हाइड्रोपावर समूह अगाडि रह्यो। यस समूहमा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भयो। वाणिज्य बैंकमा ३० करोड तथा उत्पादन तथा प्रशोधन समूहमा ३२ करोड रुपैयाँको कारोबार भएको छ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशत बढेको छ। धौलागिरि लघुवित्त ११.९८ प्रतिशत, सीवाईसी लघुवित्त ९.१४ प्रतिशत र सयपत्री हाइड्रोपावर ६.२७ प्रतिशत बढेका छन्।
यता पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ९.८३ प्रतिशत, विन नेपाल लघुवित्त ८.६७ प्रतिशत र माउन्ट एभरेस्ट पावर ७.७६ प्रतिशत घटेका छन्।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सल डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर अगाडि रहे।