कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनदेखि सम्पर्कविहीन

कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनदेखि सम्पर्कविहीन

काठमाडौँ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। सिंह शुक्रबारदेखि कपिलवस्तुको गोरुसिंगे जंगलबाट सम्पर्कविहीन भएको पाइएको हो।

सिंहले प्रयोग गर्ने लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल गोरुसिंगे जंगलभित्र फेला परेको छ। तर, उनको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

प्रहरीले सिंहको खोजीका लागि मोटरसाइकल भेटिएको क्षेत्र आसपास तालिमप्राप्त कुकुर, ड्रोन तथा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। खोजी जारी रहे पनि हालसम्म सिंहबारे कुनै नयाँ तथ्य फेला नपरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहरप्रसाद भट्टले जानकारी दिएका छन्।

एसपी भट्टले भिडियो सन्देश जारी गर्दै सिंहले आफू समस्यामा परेको जानकारी आफन्तलाई दिएको देखिएको बताएका छन्।

उनका अनुसार शुक्रबार नै आफन्तहरूले सिंहको खोजी गरेका थिए। तर, नभेटिएपछि साँझ करिब ६ बजे प्रहरीलाई उनको अवस्थाबारे जानकारी गराइएको थियो।

‘मेयर सिंहले आफू समस्या परेको जानकारी आफ्ना आफन्तलाई पनि गरेको देखिन्छ। शुक्रबार नै आफन्तले समेत उनको खोजी गरे। तर, नभेटाएपछि करिब ६ बजेतिर हामीलाई पनि हराएको जानकारी आएको थियो। हामीले पनि रातिको २ बजेसम्म खोज्दा भेट्टाउन सकेनौँ,’ एसपी भट्टले भने।

प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे गोरुसिंगे जंगलभित्र निर्माणाधीन आफ्नै रिसोर्टतर्फ जाने भन्दै निस्किएका थिए।

उनको खोजीका लागि एसपी भट्टसहितको प्रहरी टोली आइतबार बिहानदेखि गोरुसिंगे जंगल क्षेत्रमा परिचालित छ। प्रहरीले जंगल क्षेत्रमा खोजी अभियानलाई थप तीव्र बनाएको जनाएको छ।