

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ। लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।
मधेस प्रदेश, कर्णाली प्रदेशको पहाडी भूभाग तथा बागमती प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचना हेरी सावधानी अपनाउन अनुरोध गरिएको छ।