

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
नागेन्द्र साह यसअघि नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) पृष्ठभूमिका हुन्।
कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले साउन १७ गते अन्तर्वार्ता तथा मूल्यांकनपछि उत्कृष्ट अंक प्राप्त गरेका तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो।
सिफारिस सूचीमा धनुषाका नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव रहेका थिए। नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि सरकारले असार २ गते आवेदन आह्वान गरेको थियो। छनोट प्रक्रियापछि मन्त्रिपरिषद्ले साहलाई उक्त जिम्मेवारीमा नियुक्त गर्ने निर्णय गरेको हो।