धवलशम्शेर राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ घोषणा, हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डा

धवलशम्शेर राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ घोषणा, हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री धवलशम्शेर राणा को नेतृत्वमा ‘जय नेपाल पार्टी’ गठन भएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष राणाले नयाँ पार्टीको औपचारिक घोषणा गर्दै हिन्दू अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई पार्टीका प्रमुख राजनीतिक एजेन्डा बनाइने जानकारी दिए।

राणाले नेपाललाई सनातन धर्ममा आधारित हिन्दू अधिराज्यका रूपमा पुनःस्थापित गर्ने अवधारणासहित पार्टी स्थापना गरिएको बताए। उनका अनुसार पार्टीले किराँत, बौद्धलगायत अन्य सबै धर्मप्रति सम्मान कायम राख्ने नीति अवलम्बन गर्नेछ। पार्टीको चुनाव चिह्नबारे भने अझै छलफल भइरहेको उनले जानकारी दिए।

उनले राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नभई राष्ट्रिय एकता, अभिभावकीय भूमिका र राष्ट्ररक्षकको जिम्मेवारी निर्वाह गर्ने संवैधानिक राजसंस्थाको पुनःस्थापना आवश्यक रहेको धारणा राखे।

राणाले नेपालबाट हिन्दू राष्ट्रको व्यवस्था हटाउनु गलत निर्णय भएको दाबी गर्दै त्यसलाई शान्तिपूर्ण रूपमा सडक आन्दोलन र संसदीय प्रक्रियामार्फत पुनःस्थापना गर्ने लक्ष्य रहेको बताए।

उनका अनुसार नवगठित पार्टी युवा र महिला केन्द्रित हुनेछ। पार्टीको केन्द्रीय समितिको औसत उमेर ४५ वर्ष कायम गर्ने लक्ष्य राखिएको छ भने जिल्ला र निर्वाचन क्षेत्रबाट प्रत्यक्ष प्रतिनिधित्व सुनिश्चित गर्दै संगठन निर्माण गरिनेछ।

राणाले पार्टीभित्र सामूहिक नेतृत्व, आन्तरिक लोकतन्त्र र बहुमत तथा सर्वसम्मतिका आधारमा निर्णय गर्ने प्रणालीलाई प्राथमिकता दिइने बताए। उनले पार्टी कुनै एक व्यक्तिको नभई सबै सदस्यको साझा राजनीतिक संगठन हुने दाबी गरे। उनका अनुसार साउन २८ गते निर्वाचन आयोग मा ‘जय नेपाल पार्टी’ दर्ता गरिनेछ।