महिला–पुरुषबीच विभाजन गर्ने सरकारी नीति छैन : मन्त्री सिता बादी

महिला–पुरुषबीच विभाजन गर्ने सरकारी नीति छैन : मन्त्री सिता बादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्ने वा लैङ्गिक असमानतालाई प्रोत्साहन गर्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पारेकी छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सञ्चालनमा ल्याइएको निःशुल्क ब्लु बस सेवा सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले उक्त सेवा विद्यमान असमानता र जोखिम न्यूनीकरणका लागि ल्याइएको लक्षित कार्यक्रम भएको बताइन्।

उनका अनुसार सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भिडभाड तथा आवतजावतका व्यवहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्ने उद्देश्यले ब्लु बस सेवा सञ्चालनमा ल्याइएको हो।

मन्त्री बादीले निःशुल्क ब्लु बस सेवा लैङ्गिक असमानता बढाउने कदम नभई महिलाले भोगिरहेका विशेष जोखिमलाई कम गर्ने आवश्यकता–आधारित र लक्षित उपाय भएको उल्लेख गरिन्।

उनले सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुष दुवैले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको बताइन्।उनका अनुसार ब्लु बस सेवा केवल प्रचारमुखी वा लोकप्रियताका लागि ल्याइएको अल्पकालीन कार्यक्रम नभई महिलाले अहिले भोगिरहेका जोखिमलाई तत्काल सम्बोधन गर्दै सार्वजनिक यातायात प्रणालीलाई क्रमशः सुरक्षित, समावेशी र लैङ्गिकमैत्री बनाउने संक्रमणकालीन प्रयास हो।

मन्त्री बादीले सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, मर्यादित, पहुँचयुक्त, उत्तरदायी र लैङ्गिकमैत्री बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको पनि दोहोर्याइन्।