पार्टी फुट्यो: बाबुरामको नयाँ शक्ति र सन्तोष परियारको प्रलोपा अलग-अलग

पार्टी फुट्यो: बाबुरामको नयाँ शक्ति र सन्तोष परियारको प्रलोपा अलग-अलग

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वरास्वपा नेता सन्तोष परियार लगायतको पहलमा स्थापना भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रूपमा विभाजित भएको छ।

पार्टीका अधिकांश नेताहरू यसअघि नै अलग भइसकेपछि बाँकी नेतृत्वबीच पनि अलग–अलग राजनीतिक यात्रा तय गर्ने सहमति भएको हो। अध्यक्ष परिषद्मा रहेका दुर्गा सोब र सन्तोष परियारले छुट्टिने निर्णय गरेका छन्।

सहमतिअनुसार बाबुराम भट्टराईले प्रलोपा गठनअघि स्थापना गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः सक्रिय हुने भएको छ। उक्त पार्टीको नेतृत्व दुर्गा सोबले गर्ने सहमति भएको छ। पार्टीको चुनाव चिह्न ‘आँखा’ नै रहने जनाइएको छ।

यता, सन्तोष परियारको नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नै कायम रहनेछ। यस पार्टीले ‘आँखा’ बाहेक तीन रङ समेटिएको नयाँ चुनाव चिह्नका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ। यसअघि नै पार्टीका नेता सुदन किराँती र ओजस्वी भट्टराईलगायतका नेताहरू प्रलोपाबाट अलग भइसकेका छन्।