

काठमाडाैं । भूगोल साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी कवि युवराज घिमिरेको कविताकृति आइतबारको अफिस माथि परिचर्चा सम्पन्न गरेको छ । कार्यक्रम साउन १८ गते आयोजना भएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा समीक्षकका रूपमा प्रा. डा हेमनाथ पौडेल रहनुभएको थियो । कृतिको विस्तृत समीक्षा गर्दै उहाँले साहित्यमा साहित्यकारको विचार कुनै न कुनै रूपमा अभिव्यक्त हुने र साहित्यिक सिर्जनाहरू कलात्मक हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । भाषा, भाव र कला कविताका अनिवार्य तत्व हुन् भन्दै उहाँले प्रस्तुत कृति कलाका दृष्टिले कमजोर नभएको तथा कविमा कवित्व क्षमताको प्रचुरता रहेकोले आगामी दिनमा अझ परिष्कृत कविताहरू आउने आशा व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथिका रूपमा रहनुभएका वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीले राष्ट्रिय वाणिज्य बैंकमा थुप्रै स्थापित साहित्यकारहरू रहेको स्मरण गर्दै घिमिरे सोही लहरमा थपिन आएकोमा खुसी लागेको बताउनुभयो । अर्का विशिष्ट अतिथि कणाद महर्षिले आफू राष्ट्रिय वाणिज्य बैंकमै कार्यरत रहँदा साहित्यकारका रूपमा स्थापित भएको स्मरण गर्दै कविलाई शुभकामना दिनुभयो । अर्का अतिथि एवं वक्ता मित्रलाल पंगेनीले कृतिको संक्षिप्त समीक्षा गर्दै कवितामा रस र भावको आवश्यकता हुने बताउनुभयो । अर्का वक्ता उद्धव खनालले कविलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
समारोहमा बोल्दै कृतिकार युवराज घिमिरेले साहित्य प्रतिको आफ्नो अभिरुचिका साथै आफ्ना केही कविताको रचनागर्भ समेत सुनाउनुभएको थियो । कृतिकारकी पत्नी लक्ष्मी घिमिरे वस्याल र समाजका कोषाध्यक्ष हरिश्चन्द्र गौतमले सोही कृतिबाट कविता वाचन गर्नुभएको कार्यक्रममा उपस्थित अतिथिहरूको स्वागत तथा कृतिकारको परिचय गराउने काम समाजका उपाध्यक्ष दिनेश विक्रम थापाले गर्नुभएको थियो भने कार्यसमिति सदस्य एवम् प्रवक्ता मुकुन्द अर्यालले कृतिमाथि संक्षिप्त टिप्पणी साथै धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।
समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा आयोजित सो कार्यक्रमको सञ्चालन सचिव शैलेन्द्र कुमार शाहले गर्नुभएको थियो । कार्यक्रम दरबारमार्ग, काठमाडौ स्थित राष्ट्रिय वाणिज्य बैंकको सभाकक्षमा सम्पन्न भएको थियो ।
स्मरणीय छ, कवि घिमिरे राष्ट्रिय वाणिज्य बैंकका बहालवाला कर्मचारी हुनुहुन्छ । भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैंकका निवृत्त कर्मचारीहरूद्वारा २०७६ सालमा स्थापित संस्था हो । यस संस्थाले नियमित रूपमा साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ ।