

काठमाडौं । सप्तकोशी नदीमा जलप्रवाह निरन्तर बढ्न थालेपछि सुनसरी जिल्ला प्रशासनले बाढीजन्य विपद् व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ। सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै प्रशासन तथा सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन्।
यसैक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानलगायत सुरक्षा निकायका प्रमुखहरूको टोलीले शुक्रबार कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ।
हाल कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ५१ हजार १९५ क्युसेक पानीको बहाव मापन गरिएको छ। बढ्दो जलप्रवाह नियन्त्रणका लागि ब्यारेजका २० वटा ढोका खोलिएको छ। कोशी नदीमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था रहेको छ।
अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लाको विपद् प्रतिकार्य योजना पूर्ण रूपमा कार्यान्वयनमा रहेको जानकारी दिए। उनले विपद् व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा तोकिएको र आवश्यक कार्यविधिसमेत तयारी अवस्थामा रहेको बताए।
बर्खायाममा उद्धार, राहत वितरण, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनःस्थापनासम्मका सम्पूर्ण कार्यका लागि जिल्ला प्रशासन, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय तयारी अवस्थामा रहेको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार कोशी ब्यारेज पुल र जोखिमयुक्त तटबन्धहरूको मर्मतसम्भार गरिसकिएको छ। ठूलो बाढीका कारण कतै कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी पूर्वतयारी गरिएको उनले बताए।
स्थलगत अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरे तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।