

काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा हुने अवस्था बनेको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान, साथै कोशी र मधेस प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
राति पनि देशभर बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, कोशी र मधेस प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ।
महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी र बागमतीका हिमाली भूभाग, साथै कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनीको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। साथै, यसको प्रभाव दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।