मिटरब्याज पीडित र सरकारबीच आज फेरि वार्ता, सहमति टुंग्याउने प्रयास

मिटरब्याज पीडित र सरकारबीच आज फेरि वार्ता, सहमति टुंग्याउने प्रयास

काठमाडौं । मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच आज सिंहदरबारमा पुनः वार्ता हुने भएको छ। बिहीबार साँझ पनि दुवै पक्षबीच सिंहदरबारमै छलफल भएको थियो।

यही असार २५ गते जनकपुरबाट न्यायको माग गर्दै मार्चपासहित काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितलाई सरकारले बाराको निजगढमा रोकेर वार्ताको प्रक्रिया अघि बढाएको थियो।

गृहमन्त्री सुधन गुरुङ स्वयं निजगढ पुगेर संघर्ष समितिसँग विभिन्न चरणमा वार्ता गरेका थिए। त्यसपछि अन्तिम सहमतिका लागि संघर्ष समितिका पदाधिकारी बिहीबार काठमाडौं आएका हुन्।

संघर्ष समितिकी सल्लाहकार सरस्वती मिश्रका अनुसार बाँकी आन्दोलनकारीहरू भने अझै पनि निजगढमै बसेर आन्दोलन र खबरदारी जारी राखिरहेका छन्।

निजगढमा भएका वार्ताका क्रममा सरकारले मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्दै त्यसविरुद्ध छुट्टै कानुनी संरचना निर्माण गर्ने विषयमा सहमति जनाएको बताइएको छ।

संघर्ष समिताका एक पदाधिकारीका अनुसार निजगढमा भएको प्रारम्भिक सहमतिलाई आजको वार्तामार्फत अन्तिम रूप दिने तयारी गरिएको छ। दुवै पक्षबीच सहमति जुटे आन्दोलनका आगामी कार्यक्रमबारे पनि निर्णय हुने अपेक्षा गरिएको छ।