वासिङ्टन डीसी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ। साथै, इरानी बन्दरगाहतर्फ आउने–जाने जहाजहरूको आवागमन रोक्ने उद्देश्यले नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव झन् चर्किएको छ।
इरानी पक्षले अमेरिकी कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको सहमति समाप्त भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए अर्को सातादेखि विद्युत् उत्पादन केन्द्र र रणनीतिक पुलहरूलाई लक्षित गरी थप आक्रमण गरिने चेतावनी दिएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले ऊर्जा पूर्वाधारमाथिको आक्रमण वार्ता नभएसम्म जारी रहने संकेत दिएका हुन्।
यसअघि हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजबाट २० प्रतिशत शुल्क उठाउने घोषणा गरेका ट्रम्पले भने अन्तर्राष्ट्रिय आलोचनापछि उक्त प्रस्ताव फिर्ता लिँदै त्यसको सट्टा खाडी राष्ट्रहरूसँग व्यापार तथा लगानी साझेदारीलाई प्राथमिकता दिने बताएका छन्।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (CENTCOM) का अनुसार पछिल्लो हवाई आक्रमणको मुख्य उद्देश्य हर्मुज जलघाँटी क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुने इरानी सैन्य क्षमता कमजोर पार्नु हो। सेन्टकमले गत सातामात्रै इरानले सातवटा व्यापारिक जहाजमाथि आक्रमण गर्दा चालकदलका सदस्यहरू मारिएको, बेपत्ता भएको वा घाइते भएको जनाएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केसम टापु तथा अन्य दक्षिणी क्षेत्रमा विस्फोट भएका छन्। इरानी समाचार एजेन्सी इरनाले यसको प्रत्युत्तरमा इरानी सेनाले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण गरेको तथा रिभोलुसनरी गार्ड्सले बहराइनस्थित अमेरिकी सैन्य सुविधालाई मिसाइल र ड्रोनबाट निशाना बनाएको दाबी गरेको छ। जोर्डन र कुवेतले पनि केही मिसाइल तथा ड्रोन अवरोध गरिएको जानकारी दिएका छन्।
यसैबीच, अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा पनि तनाव बढेको छ। अन्तर्राष्ट्रिय समुद्री निकायका अनुसार हर्मुज जलघाँटी आसपास भएका आक्रमणमा दुई जहाजका चालकदलका सदस्यको मृत्यु भएको छ भने ओमानको तटनजिक एउटा नर्वेली तेल ट्यांकरमा क्षति पुगेको छ।
इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी नाकाबन्दी पुनः लागू भएसँगै द्वन्द्व रोक्न भएको इस्लामाबाद सम्झौता अब समाप्त भएको बताएका छन्। उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानबाट हुने कुनै पनि आक्रमणको कडा प्रतिकार गरिने चेतावनी दिएका छन्।