अमेरिका–इरान फेरि तनाव कम गर्न सहमत, दोहामा वार्ता पुनः सुरु हुने दाबी

अमेरिका–इरान फेरि तनाव कम गर्न सहमत, दोहामा वार्ता पुनः सुरु हुने दाबी

काठमाडौं । हालैका दिनमा फेरि बढेको सैन्य तनावबीच अमेरिका र इरानले अवस्था थप नबिगार्ने तथा तत्कालका लागि आक्रमण रोक्ने सहमति गरेको दाबी गरिएको छ।

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले दुवै देश तनाव कम गर्दै पुनः वार्ताको बाटोमा फर्किन सहमत भएको जनाएको हो।

यसअघि अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर भए पनि हर्मुज जलडमरूमध्य (हर्मुज स्ट्रेट) र आसपासका क्षेत्रमा दुवै पक्षबाट आक्रमण जारी रहेकाले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाइएको थियो।

सीबीएस न्युजसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले अब हर्मुज जलडमरूमध्यबाट जहाजहरूको आवागमन सामान्य रूपमा सञ्चालन हुने र युद्ध पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यसहित कूटनीतिक वार्ता निरन्तर अघि बढ्ने बताएका छन्।

यद्यपि, ती अधिकारीले वार्ता कहिले र कहाँ हुने भन्नेबारे विस्तृत जानकारी दिएका छैनन्।

अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार अमेरिका पक्षका दुई अधिकारी र घटनाबारे जानकार एक स्रोतले मंगलबार कतारको राजधानी दोहामा अमेरिका–इरानबीच पुनः वार्ता हुने जानकारी दिएका छन्।

सीएनएनले पनि ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै दुवै पक्ष तत्कालका लागि आक्रमण रोक्न र दोहामा थप वार्ता गर्न सहमत भएको जनाएको छ।

यता, इरानले भने यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

यसअघि जुन १७ मा अमेरिका र इरानले १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्दै सबै मोर्चामा युद्ध रोक्ने सहमति गरेका थिए।