‘मेरो नाम इरानको हिटलिस्टको पहिलो नम्बरमा छ’ : ट्रम्प

‘मेरो नाम इरानको हिटलिस्टको पहिलो नम्बरमा छ’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ज्यान निरन्तर जोखिममा रहेको दाबी गरेका छन्। एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू इरानको ‘हिटलिस्ट’को शीर्ष स्थानमा रहेको भन्दै सुरक्षा चुनौतीबारे खुलासा गरेका हुन्।

उडानका क्रममा पत्रकारहरूलाई विमानका झ्यालका पर्दा बन्द राख्न निर्देशन दिइएको विषयमा प्रश्न उठेपछि ट्रम्पले सम्भावित सुरक्षाजन्य जोखिमको संकेत गरेका थिए। ‘यो खतरनाक उडान हुन सक्छ। उनीहरू (इरानीहरू) निकै खतरनाक छन्। म सधैँ जोखिममा हुन्छु। मेरो नाम उनीहरूको सूचीको पहिलो नम्बरमा छ,’ ट्रम्पले भने।

उनले पत्रकारहरूसँग ठट्टा गर्दै भने, ‘यदि मलाई केही भयो भने तपाईंहरूलाई पनि असर पर्छ। सायद कुनै दिन तपाईंहरूले आफ्नो पेसा परिवर्तन गर्नेबारे सोच्नुपर्ने हुन सक्छ।’

ट्रम्पको उक्त अभिव्यक्तिपछि अमेरिकाले इरानविरुद्ध फेरि ठूलो सैन्य कारबाही गरेको छ। शान्ति सम्झौतापछि दोस्रोपटक अमेरिकी सेनाले बुधबार रातिदेखि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण सुरु गरेको हो।

इरानी सञ्चारमाध्यमका अनुसार कोनारक, चाबहारलगायत दक्षिणपूर्वी इरानका विभिन्न क्षेत्रमा अमेरिकी युद्धविमानले प्रहार गरेका छन्। सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार इरानसहर विमानस्थलमा भएको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ।

सिस्तान–बलुचिस्तान प्रान्तका अधिकारीहरूले स्थानीय समयअनुसार मध्यरातपछि सहरभरि चारवटा शक्तिशाली विस्फोट सुनिएको बताएका छन्।

यस्तै, इरानको प्रमुख सामुद्रिक व्यापार केन्द्र मानिने चाबहार फ्रि जोन क्षेत्रमा आक्रमण भएपछि सम्भावित थप क्षति रोक्न गोदाममा रहेका सवारीसाधन सुरक्षित स्थानमा सार्ने काम तीव्र पारिएको छ। स्थानीय प्रशासनका अनुसार मध्यरातसम्म करिब ३०० सवारीसाधन हटाइसकिएको छ भने बाँकी सवारीसाधन स्थानान्तरणको काम बिहानसम्म जारी रहनेछ।

यसअघि मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप उक्त कारबाही गरिएको जनाएको छ।

नेटो शिखर सम्मेलनका क्रममा ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही हुने संकेत दिएका थिए। उनले यसअघि इरानसँग भएको द्वन्द्व न्यूनीकरणसम्बन्धी समझदारी समाप्त भएको घोषणा गर्दै आवश्यक परे थप कडा कदम चालिने चेतावनीसमेत दिएका थिए।