एडीबीसँग नेपालको २५ अर्ब रुपैयाँ ऋण सम्झौता, खानेपानी, ढल र भन्सार आधुनिकीकरणमा लगानी हुने

एडीबीसँग नेपालको २५ अर्ब रुपैयाँ ऋण सम्झौता, खानेपानी, ढल र भन्सार आधुनिकीकरणमा लगानी हुने

एडीबी अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणमै दुई महत्वपूर्ण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौता

सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको उपस्थितिमा आयोजित कार्यक्रममा सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय तथा एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका हुन्।

अर्थ मन्त्रालयका अनुसार नेपालले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सब–प्रोग्राम–२) कार्यान्वयनका लागि उक्त ऋण उपयोग गर्नेछ।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि ११ करोड ५० लाख अमेरिकी डलर तथा भन्सार र आपूर्ति व्यवस्थापन सुधार कार्यक्रमका लागि ५ करोड अमेरिकी डलर ऋण लिइएको हो।

खानेपानी र ढल व्यवस्थापनमा प्राथमिकता

सरकारले सहुलियतपूर्ण ऋणको ठूलो हिस्सा स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा खर्च गर्ने जनाएको छ। एडीबीका अनुसार यस आयोजनाबाट देशका १३ जिल्लाका करिब ८ लाख ५० हजार नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। साना तथा मझौला शहरमा सुरक्षित खानेपानी पहुँच विस्तार र व्यवस्थित ढल प्रणाली विकासमा आयोजना केन्द्रित रहनेछ।

भन्सार प्रणाली आधुनिक बनाइने

दोस्रो आयोजनाअन्तर्गत नेपालले भन्सार प्रशासनलाई प्रविधिमैत्री, छिटोछरितो र पारदर्शी बनाउने लक्ष्य लिएको छ। जोखिममा आधारित जाँच प्रणाली, सरलीकृत भन्सार प्रक्रिया, आधुनिक लजिस्टिक सेवा तथा आपूर्ति श्रृङ्खलाको क्षमता अभिवृद्धिमा ऋण रकम खर्च गरिनेछ।

एडीबीका अनुसार यस सुधारले व्यापार लागत घटाउने, सीमापार व्यापारलाई सहज र अनुमानयोग्य बनाउने तथा नेपाललाई क्षेत्रीय मूल्य श्रृङ्खलासँग अझ प्रभावकारी रूपमा जोड्न सहयोग पुग्नेछ।

साझेदारी थप सुदृढ बनाउने प्रतिबद्धता

सम्झौता कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा दुई पक्षबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

एडीबी अध्यक्ष मासातो कान्दाले नेपालसँगको करिब छ दशक लामो सहकार्य आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। उनले नेपालको विकास प्राथमिकतासँग एडीबीको सहयोग निरन्तर जोडिने उल्लेख गर्दै बाह्य तथा आन्तरिक चुनौती सामना गर्न बैंक नेपालसँग सधैं सहकार्यमा रहने बताए।

नेपाल सरकार र एडीबीका उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न यो सम्झौतालाई नेपालको पूर्वाधार विकास, सार्वजनिक सेवा सुधार तथा व्यापार सहजीकरणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।