

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल फेरि विवादमा तानिएका छन्। यसअघि काम नगर्ने ठेकेदारका ‘खुट्टा भाँचिदिने’ अभिव्यक्तिका कारण आलोचित बनेका उनले यसपटक स्थानीय तहका प्रमुख र प्रदेश सरकारका मन्त्रीहरूमाथि कारबाही गर्ने तथा ‘थुन्ने’ चेतावनी दिएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५, दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लम्सालले जनप्रतिनिधिले जनताको काम नगरे कानुनी कारबाही गरिने बताए।
उनले स्थानीय नेता–कार्यकर्तालाई जनप्रतिनिधिले सेवाग्राहीलाई दुःख दिएको वा काममा लापरबाही गरेको जानकारी आफूहरूलाई दिन आग्रह गर्दै भने, ‘यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस्। त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।’
यतिमै सीमित नरही मन्त्री लम्सालले मेयर र प्रदेशका मन्त्रीलाई लक्षित गर्दै थप कडा अभिव्यक्ति दिए।
‘मेयरलाई पनि कारबाही गर्छौं। प्रदेश मन्त्रीले काम गरेन भने प्रदेशको मन्त्रीलाई पनि थुन्छौँ हामी। काम चाहिँ गर्नुपर्यो, काम चाहिँ गराउनुपर्यो,’ उनले भने।
यसअघि पनि मन्त्री लम्साल विवादास्पद अभिव्यक्तिका कारण आलोचनामा परेका थिए। गत जेठ ३१ गते नागढुंगा-मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले सडक विस्तारमा ढिलाइ गर्ने ठेकेदारलाई लक्षित गर्दै ‘काम गरेन भने खुट्टा भाँचिदिनुस्’ भन्ने अभिव्यक्ति दिएका थिए।
त्यसबेला उनले विद्युत्का पोल स्थानान्तरणमा ढिलाइ भएको भन्दै सम्बन्धित ठेकेदारलाई जहाँ भए पनि ल्याउन निर्देशन दिँदै, ‘घर पठाउने होइन, काम गरेन भने खुट्टा भाँचिदिनुस्, चाँडोभन्दा चाँडो पोल सार्नुपर्छ। यहाँका जनताले धेरै दुःख पाए,’ भनेका थिए।
उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि पनि मन्त्री लम्सालले फेरि सार्वजनिक कार्यक्रममा मेयर र प्रदेश मन्त्रीलाई ‘कारबाही’ र ‘थुन्ने’ चेतावनी दिएपछि उनको अभिव्यक्तिलाई लिएर पुनः राजनीतिक तथा सार्वजनिक बहस सुरु भएको छ।