

काठमाडौं। असारको तेस्रो साता बितिसक्दा पनि देशभर धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार हालसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ३२.३८ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा कम हो।
विभागको तथ्यांकअनुसार नेपालमा धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टरमा मात्रै धान रोपिएको छ। गत वर्ष असारको यही अवधिसम्म देशभर करिब ४५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेश रोपाइँको प्रगतिमा सबैभन्दा अगाडि देखिएको छ। यहाँ धान खेती हुने १ लाख ५४ हजार ९ सय ५० हेक्टरमध्ये ८९ हजार ७ सय ४२ हेक्टरमा रोपाइँ सम्पन्न भई कुल ५७.९ प्रतिशत प्रगति भएको छ। यद्यपि यो पनि गत वर्षको यही अवधिको ८२.८ प्रतिशतको तुलनामा कम हो।
सुदूरपश्चिमपछि गण्डकी प्रदेश दोस्रो स्थानमा रहेको छ। प्रदेशका ९३ हजार ६ सय ६ हेक्टर धान क्षेत्रमध्ये ३८ हजार ३ सय ८९ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ४१ प्रतिशत हो।
कर्णाली प्रदेशमा ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टर अर्थात् ४०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिमा गण्डकीमा ५५.६ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भइसकेको थियो।
लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टर धान क्षेत्रमध्ये हालसम्म १ लाख १२ हजार ५ सय ९ हेक्टरमा मात्रै रोपाइँ भएको छ। यो कुल क्षेत्रफलको ३७.३ प्रतिशत हो, जबकि गत वर्ष सोही अवधिमा यहाँ ५२.१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।
बागमती प्रदेशमा पनि रोपाइँको गति सुस्त देखिएको छ। कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टरमा मात्रै धान रोपिएको छ, जुन ३३.२ प्रतिशत हो। गत वर्ष यही अवधिमा बागमतीमा ५१.९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।
कोशी प्रदेशमा भने अघिल्लो वर्षको तुलनामा केही सुधार देखिएको छ। प्रदेशका २ लाख ७६ हजार ३ सय ८७ हेक्टर धान क्षेत्रमध्ये ८७ हजार ३३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन ३१.५ प्रतिशत हो। गत वर्ष यही अवधिमा यहाँ २९.५ प्रतिशत मात्रै रोपाइँ भएको थियो।
यता, देशकै प्रमुख धान उत्पादन क्षेत्र मधेश प्रदेशको अवस्था भने सबैभन्दा चिन्ताजनक देखिएको छ। ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर धान खेतीयोग्य क्षेत्र रहेको मधेशमा असारको तेस्रो सातासम्म ६० हजार ३ सय ४६ हेक्टरमा मात्रै रोपाइँ भएको छ। यो कुल क्षेत्रफलको केवल १५.६ प्रतिशत हो, जुन सबै प्रदेशमध्ये सबैभन्दा कम हो। गत वर्ष यही अवधिमा मधेशमा २५.१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।
कृषि क्षेत्रका जानकारहरूका अनुसार पर्याप्त वर्षा नहुनु, सिँचाइको अभाव, मल तथा कृषि सामग्रीको समयमै उपलब्धता नहुनु लगायतका कारण यस वर्ष धान रोपाइँ प्रभावित भएको हो। यदि आगामी दिनमा पर्याप्त वर्षा नभए धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने र त्यसको प्रभाव मुलुकको खाद्य सुरक्षासम्म पुग्न सक्ने चिन्ता व्यक्त गरिएको छ।