

काठमाडौं । देशभर मनसुनको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदरभन्दा दक्षिणतर्फ तथा पश्चिमी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले वर्षा गराउने प्रणाली सक्रिय बनेको हो।
हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बदली रहने सम्भावना छ भने कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोशी र बागमती प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।