सरकारले अवैध सट्टेबाजीविरुद्ध कडाइ, २६ एप र झण्डै २ लाख ५० हजार बेटिङ साइट बन्द

सरकारले अवैध सट्टेबाजीविरुद्ध कडाइ, २६ एप र झण्डै २ लाख ५० हजार बेटिङ साइट बन्द

काठमाडौं । सरकारले नेपालभित्र सञ्चालनमा रहेका अवैध अनलाइन सट्टेबाजी, बेटिङ र ग्याम्बलिङ नियन्त्रण अभियानलाई तीव्र बनाउँदै २६ वटा मोबाइल एप र झण्डै साढे २ लाख बेटिङ वेबसाइट बन्द गराएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूलाई अवैध सट्टेबाजीसँग सम्बन्धित वेबसाइट र एपहरू बन्द गर्न निर्देशन दिएपछि उक्त कारबाही गरिएको हो।

मन्त्रालयले गत चैत १५ गते सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) तथा मोबाइल सेवा प्रदायकलाई नेपालभित्र सञ्चालनमा रहेका अवैध अनलाइन बेटिङ, ग्याम्बलिङ र सट्टेबाजीसम्बन्धी वेबसाइट तथा एपहरू बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो। सोही निर्देशनअनुसार प्राधिकरणले विभिन्न सेवा प्रदायकमार्फत हालसम्म २६ मोबाइल एप तथा झण्डै साढे २ लाख बेटिङ वेबसाइट ब्लक गराएको जनाएको छ।

सेवा प्रदायकहरूमध्ये वेबसर्फरले सबैभन्दा धेरै ३५ हजार ४५४ वेबसाइट बन्द गरेको छ। त्यसपछि डिसहोमले २५ हजार ५३८, क्लासिटेकले २५ हजार ५१६ र सजिलो नेटले २४ हजार ९३६ वटा अवैध बेटिङ वेबसाइट ब्लक गरेका छन्।

मोबाइल सेवा प्रदायक एनसेलले २२ हजार २२६ वेबसाइटको डोमेन ब्लक गरेको छ भने वर्ल्डलिंकले २२ हजार ६३, टेकमाइन्ड्सले २१ हजार ७६८, नेपाल टेलिकमले २१ हजार ७४३ र सुबिसुले २१ हजार ७०५ वेबसाइटमा पहुँच बन्द गरेका छन्।

त्यसैगरी, सिजी नेटले १७ हजार ७०६, इस्टलिंकले १४ हजार ३०४, भायानेटले १० हजार ४४६ तथा पोखरा नेटले ७ हजार ३३४ वटा बेटिङ वेबसाइट बन्द गराएको विवरण सार्वजनिक गरिएको छ।

सरकारले अवैध अनलाइन सट्टेबाजी, ग्याम्बलिङ र बेटिङ नियन्त्रणलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँगको समन्वयमा निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।