चेतनाको वृद्धि र पारिवारीक विचलन

चेतनाको वृद्धि र पारिवारीक विचलन

– मालिका केशरी-
malikakeshari@gmail.com

परिवार भन्ने बित्तिकै भावनात्मक संम्बन्ध, आपसी सद्भाव र स्नेह जोडिएको हुन्छ । बहुसंख्यक नेपाली समाज अझै पनि संयुक्त पारिवारीक संरचनामा नै रमेको पाउँछौ । आफूलाई हजुरबुबा र हजुरआमाले बाल्यकालमा सुनाएको रमाइलो कथा संम्झनेको संख्या ठूलो छ ।

नेपाली समाज सांस्कृतिक मूल्य, परम्परा, र कर्तव्यप्रतिको निष्ठामा आधारित रहेको छ । यसको प्रभाव पारिवारीक संरचनामा पनि परेको पइन्छ । लिखित रुपमा नभए पनि परिवारका प्रत्येक सदस्य विचमा कतव्र्य र उत्तरदाइत्व बाँढिएको पाइन्छ । विशेष गरी संयुक्त परिवारमा बुहारीले परिवारको मेरुदण्डको रूपमा भूमिका निर्वाह गर्ने परम्परा छ । पुरातन नेपाली समाजमा “अर्काकी घरजाने जात” भनेर हेपिने छोरीको स्थान आज छोरा बराबरको छ । पछिल्लो समयउ नेपाली समाजमा छोरीलाई पनि समान अवसर दिइयो भने छोरा बराबर नै उन्नती गर्न सक्छिन् भन्ने चेतनाको विकाश भएको पाइन्छ । शिक्षाको पहुँच बढेसँगै महिलाहरूले पनि आत्मनिर्भरता, सोचको स्वतन्त्रता, र निर्णय क्षमतामा उल्लेखनीय वृद्धि गरेका छन् । तर, हाल केही ठाउँहरूमा देखिएको व्यवहारिक अन्तरले केही गम्भीर प्रश्नहरू पनि उठाएका छन् ।

शिक्षाः चेतनाको वृद्धि कि संस्कारको विचलन?

शिक्षित नयाँ पुस्ताका बुहारीहरू अत्मनिर्भर र व्यक्तित्वको विकासमा केन्द्रित हुँदै गएका छन् । यो सकारात्मक पक्ष हो, आधा आकाश ओगट्ने महिलाहरु अत्मनिर्भर हुनुले परिवार, समाज, र देशकै विकासमा योगदान दिन्छ । तर, कतिपय अवस्थामा, शिक्षा र स्वअधिकारको नाममा परम्परागत मूल्य र संस्कारप्रति उदासीन देखिनु, आफ्नो कर्तव्य एवं उत्तरदाइत्वलाई ब्यवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ । यो अर्को डरलाग्दो संकेत हो । घरका कामकाजलाई पिछडिएको सोच मान्ने, सासूससुरालाई तुच्छ बोझको रूपमा हेर्ने, वा श्रीमानलाई ‘दबाबमा राखेर’ सम्बन्धमा आफुलाई हावी गराउने प्रवृत्ति केही परिवारमा देखिन थालेको छ ।

केही समय अघि लेखक केही साथीहरु सहित समाजसेवामा आवद्ध एक व्यक्तिको घरमा आमन्त्रित थियो । समाजसेवीले आएका पाउनालाई चिया तयार पार्न बुहारीलाई अनुरोध गर्दा बुहारीले भनिन् “मैले यतिका पढेको तपाईं र तपाईंको मान्छेको लागि चिया पकाउनलाई हो ?” उनको जवाफ त्यो परिवेशको लागी उचित पक्कै थिएन । हुनसक्छ समाजसेवीको घरमा मानिस धेरै आउने भएकाले दिक्क मानेकी हुन् वा अन्य कारण हुन् तर जे भए पनि त्यो व्यवहार सुहाउँदो पक्कै थिएन । उनी शिक्षित कामकाजी बुहारी थिइन् । उनको कमाइ र शिक्षाको स्तर उच्च थियो तर उनले जुन व्यवहार प्रस्तुत गरिन् त्यो पक्कै संस्कारले भरिएको थिएन । किताबी ज्ञान हुनु र बौद्धिक हुनु दुई भिन्न तत्व हुन् भन्ने लाग्यो ।

पछिल्लो समय नेपाली युवाहरु विदेशीने र उतै घर किनेर बस्ने प्रबृती बढेको छ । अमेरीका अष्ट्रेलिया लगाएतका देशमा नेपालीको ठूलो बसोबास छ । केही अघि नातीको मुख हेर्न नेपालबाट अमेरीका आएकी एक आमालाई बुहारीले घरमा खान पनि नदिएपछि उनलाई नेपाल फर्काउन लेखक सहित केही साथीले सहयोग जुटाएका थियौ । नेपालबाट आउँदा छोरा बुहारीले ल्याउन लगाएको सुनचाँदीका गहनाको लामै लिष्ट रहेको । उक्त गरहगहना पेन्सनबाट जम्माभएको रकमले किनेर ल्याएको तर गहना हातपरेपछि बुहारीमात्र होइन छोराले पनि परेदेशी भूमिमा वेवास्ता गरेको बताएकी थिइन् । उनले नेपाल फर्कदै गर्दा भनेकी थिइन् “यस्ता छोरा जन्मनुभन्दा बरु कोख बाँझै बसेको भए बाँझो भए भनेर चित्त बुझाउने थिएँ ।” यस्ता उपेक्षित बाबुआमाहरु धेरै भेटिन थालेका छन् । कोही सडकमा, कोही बृद्धआश्रममा त कोही घरको एक कुनामा ।
यी प्रतिनीधि घटना हुन् । पछिल्लो पुस्ता शिक्षत र समृद्ध बन्दै जाँदा पुरानो पुस्तालाई उपेक्षित र बोझ सम्झने प्रबृति बढेको छ । यी दुवै घटनाका केन्द्रीय पात्र छोराबुहारी दुवैजना अमेरीकाको ख्याति प्राप्त विश्वबिद्यालयबाट डिग्री हाँसिल गरेका शिक्षित व्यक्ती हुन् ।

नयाँ स्वरूपमा देखिएको वैवाहिक सम्बन्ध

पारम्परिक नेपाली समाजमा महिलाहरूले घरेलु हिंसा र दमनको सामना गर्नुपरेको इतिहास छ । आजको दिनमा भने, पुरुषहरू पनि मानसिक दवाव, सामाजिक अपमान, वा वैवाहिक सम्बन्धमा उत्पन्न तनावका कारण पीडित हुन थालेका खबरहरू सतहमा आउन थालेका छन् ।

पुरुषलाई पारिवारिक सन्तुलनको खम्बा मान्ने हाम्रो समाजमा, अहिले कतिपय श्रीमानहरू मानसिक असहजताको अवस्था भोगिरहेका छन् । श्रीमतीका असहिष्णु व्यवहार, परिवारका अन्य सदस्यहरुसँग दुरी बनाउन श्रीमतीको दवाब, आर्थिक नियन्त्रण, वा झुटा आरोपहरूले सम्बन्धलाई बोझिलो बनाइरहेका छन् ।

केही समय अगाडि अमेरीकि नेपाली समाजमा चिनिएका एक व्यक्तिले यस्तै परीवारिक पिडाबाट मुक्तहुन आत्महत्याको वाटो रोजेका थिए । हेर्दा सामान्य देखिने यस्ता असहजताले गम्भिर घटना घटाई रहेका छन् । कैयौ पुरुषहरु बिक्षिप्त मानसिक अवस्थाको शिकार भएका छन् भने कोही भाग्यलाई दोष दिएर सम्बन्धलाई निरन्तरता दिइरहेका छन् । यस्ता व्याबहार र घटनाहरू गम्भीरता पूर्वक लिएर दुवै लिङ्गका लागि न्याय सुनिश्चित गर्नु समाजको दायित्व हो ।

उपेक्षित अभिभावकः आवाजविहीन पीडाहरू

छोराको विहेपछि जब बुहारी घरमा आउँछिन् तव नयाँ सम्बन्धको सुरुवात हुनपुग्छ । सासुससुरा तिनै हुन् जसले आफ्नो जीवनको महत्वपूर्ण कमाइ छोराछोरीको बृद्धि विकाश र आवश्यकता पूर्तिको लागि खर्चिएका हुन्छन् । तनावमय जीवनको दौडमा दौडदा दौडदै थाकेर जीवनको उत्तरार्धमा पुगिसेका वा पुग्न आँटेका उनीहरुको अपेक्षा हुन्छ नयाँ आएकी बुहारी र छोराले सम्मानपूर्ण व्यवहार गरोस् । उमेर र रोगले शिथिल हुँदै गरेको शरिरलाई सहार प्रदान गरोस् । अबको जीवन विश्राममय र सम्मानमय होस् ।

यस विपरित घरमा उनीहरु नै उपेक्षित भइरहेका छन् । नयाँ पुस्तालाई संस्कार र संस्कृति सिकाउनु पर्ने उनीहरुलाई बोझको रुपमा लिइएको छ । उनीहरुको कुरालाई वेवास्ता गर्नु, उनिहरुको न्यूनतम आवश्यकतालाई उपेक्षित गर्नु । साथीभाई र समाजको अगाडि मानमर्दन गर्नु सामान्य जस्तो देखिन थालेको छ ।

शिक्षित हुनु, आत्मनिर्भर हुनु, व्यक्तित्वको विकासमा केन्द्रीत हुनु राम्रो हो । साथमा आफ्नो उत्तरदाइत्व बहन गर्नुपर्छ । सामाजिक मूल्य मान्यता र संस्कारको सम्मान गर्नुपर्छ । आजको बुहारी कसैको छोरी त भविश्यकी सासु पनि हुन् । जुन संस्कार सन्तानलाई बाढिन्छ त्यही संस्कार उनीहरुले ग्रहण गर्छन् । एउटा आवाज सुनिन्छ “बुहारीलाई छोरीजस्तै ठान्नुपर्छ ।” के बुहारीले सासुलाई पनि आमा नै ठानेकी छिन् त ? यदी आमाको स्थानमा सासु देख्ने हो भने छोरीको स्थानमा बुहारी पक्कै अटाउने छिन् ।