दक्षिण अफ्रिका अन्तिम ३२ मा, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

दक्षिण अफ्रिका अन्तिम ३२ मा, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।दुवै टोलीले पहिलो हाफमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिने संकेत देखिएको थियो। तर दोस्रो हाफमा दक्षिण अफ्रिकाका थापेलो मसेकोले गरेको एकमात्र गोल निर्णायक बन्यो।

मसेकोको गोलको मद्दतमा महत्वपूर्ण जित हासिल गरेको दक्षिण अफ्रिकाले ४ अंक जोड्दै अन्तिम ३२ मा स्थान बनाएको हो। यता, यसअघि एक खेलबाट ३ अंक जोडेको दक्षिण कोरिया निर्णायक खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ।

समूह ‘ए’ को अर्को खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३-० ले हराउँदै शतप्रतिशत नतिजासहित समूह विजेता बनेको छ। मेक्सिकोले तीनै खेल जित्दै ९ अंक बटुलेको हो। समूह चरणको समाप्तिसँगै मेक्सिको समूह विजेता तथा दक्षिण अफ्रिका उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन्।