

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० ले पराजित गर्दै समूहको शीर्षस्थान हासिल गरेको छ। जितसँगै ब्राजिलले तीन खेलबाट ७ अंक जोड्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। ब्राजिलले समूह चरणमा दुई जित र एक बराबरीको नतिजा निकालेको थियो।
ब्राजिलको जितमा भिनिसियस जुनियर चम्किए। उनले खेलको छैटौं र २१औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए। ६०औँ मिनेटमा म्याथियस कुन्हाले अर्को गोल थपेपछि ब्राजिलले ३–० को सहज जित सुनिश्चित गर्यो।
ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा हाइटीलाई ३–० ले पराजित गरेको थियो।
यता, स्कटल्याण्डले समूह चरणको पहिलो खेलमा हाइटीलाई १–० ले हराएको थियो भने दोस्रो खेलमा मोरक्कोसँग १–० ले पराजित भएको थियो। ब्राजिलसँगको हारपछि स्कटल्याण्ड ३ अंकसहित तेस्रो स्थानमा सीमित रह्यो।
समूहको अर्को खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाएको छ। खेलको १०औँ मिनेटमा लियोन जोसेफले गोल गर्दै हाइटीलाई अग्रता दिलाएका थिए। त्यसको जवाफमा मोरक्कोका अच्रफ हाकिमीले २९औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
४३औँ मिनेटमा विल्सन एडिसरले गोल गर्दै हाइटीलाई पुनः अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा इस्माइल साइबारीले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए। दोस्रो हाफमा मोरक्कोले खेलमा पूर्ण नियन्त्रण जमायो। ७८औँ मिनेटमा सोफियान रहुनीले गोल गरे भने इन्जुरी समयमा यासिन जेसिनले अर्को गोल थप्दै ४–२ को जित सुनिश्चित गरे।
मोरक्कोले समूह चरणमा ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो भने स्कटल्याण्डलाई १–० ले हराएको थियो।
उता, लगातार तीन खेलमा हार बेहोरेको हाइटी अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। ५२ वर्षपछि विश्वकपमा सहभागी भएको हाइटीले यस संस्करणमा दुई गोल गर्न सफल भए पनि नकआउट चरण पुग्न सकेन।