ललितपुर महानगरको ७ अर्ब ४८ करोडको बजेट, पुँजीगत खर्चमा ६ प्रतिशत कटौती

ललितपुर महानगरको ७ अर्ब ४८ करोडको बजेट, पुँजीगत खर्चमा ६ प्रतिशत कटौती

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधबार आयोजित नगरसभामा उपमेयर मञ्जली शाक्य बज्राचार्यले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षकै हाराहारीमा बजेट विनियोजन गरिएको जानकारी दिइन्।

महानगरले आगामी वर्षका लागि चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको छ। कर्मचारीको तलब वृद्धि, प्रोत्साहन भत्ता, प्रशासनिक खर्च तथा सामाजिक सुरक्षा भत्ताजस्ता अनिवार्य दायित्व बढ्ने अनुमानका आधारमा चालु खर्च अघिल्लो वर्षको तुलनामा करिब २८ करोड रुपैयाँले बढाइएको छ, जुन करिब ९ प्रतिशत वृद्धि हो।

उपमेयर बज्राचार्यले बजेटलाई मितव्ययी, पारदर्शी र औचित्यपूर्ण ढंगले कार्यान्वयन गरिने बताइन्। उनले चालु खर्चलाई आवश्यकतामा आधारित बनाइएको र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा विशेष ध्यान दिइएको उल्लेख गरिन्।

पुँजीगत खर्चतर्फ भने ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको थियो। संघीय तथा प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम बजेट प्राप्त भएकाले आगामी वर्षको पुँजीगत बजेट करिब २७ करोड रुपैयाँले घटाइएको महानगरले जनाएको छ।

महानगरका अनुसार वडास्तरीय विकास कार्यक्रम तथा विषयगत क्षेत्रका योजनालाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ। साथै, बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबाट मासिक प्रगति प्रतिवेदन लिने व्यवस्था समेत गरिएको छ।