नेप्सेमा सामान्य गिरावट, फाइनान्स समूहमा भने बढ्यो आकर्षण

नेप्सेमा सामान्य गिरावट, फाइनान्स समूहमा भने बढ्यो आकर्षण

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.४६ अंकले घटेर २७०० अंकमा कायम भएको छ। दिनभर बजारमा सीमित उतारचढाव देखिएको थियो। अघिल्लो कारोबार दिन शुक्रबार नेप्से १.६३ अंकले बढेको थियो।

आज कारोबार रकम पनि केही घटेको छ। शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित रह्यो। कारोबारमा सहभागी कम्पनीमध्ये ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको घट्यो भने १४ कम्पनीको मूल्य स्थिर रह्यो।

समग्र बजार ओरालो लागे पनि फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण उल्लेखनीय देखियो। फाइनान्स समूहको सूचक १.०१ प्रतिशतले वृद्धि भई जेठ २८ यताकै उच्च विन्दु २४९० अंकमा पुगेको छ। यस समूहअन्तर्गत मञ्जुश्री फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ४.७२ प्रतिशतले बढ्यो।

फाइनान्सबाहेक माइक्रोफाइनान्स समूह ०.४२ प्रतिशत र व्यापार समूह ०.९२ प्रतिशतले उकालो लागे। यद्यपि बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा तथा अन्य समूहका सूचकहरू सामान्य रूपमा घटेका छन्।

शुक्रबार मात्रै सूचीकृत भएका टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्य सोमबार पनि १५ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको छ।

त्यस्तै, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ५.६६ प्रतिशत तथा एपोलो हाइड्रोपावरको ५.२६ प्रतिशतले वृद्धि भएको छ।

घट्ने कम्पनीतर्फ गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भुजुङ हाइड्रोपावरको सेयर मूल्य ३.०४ प्रतिशतका दरले घटेको छ।

कारोबार रकमका आधारमा सोमबार सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, स्वावलम्बन लघुवित्त, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहे।