

काठमाडौँ । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगर परिसरबाट हराएको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर फेला परेपछि ठूलो परिमाणमा पेट्रोल चोरी भएको खुलासा भएको छ।
श्री नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्याङ्करले भारतस्थित इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेर ल्याएको थियो। उक्त ट्याङ्कर असार ७ गते बिहान निगमको डिपो परिसर नजिकको पार्किङ क्षेत्रबाट अचानक हराएको थियो।
ट्याङ्कर हराएलगत्तै नेपाल आयल निगमले खोजी कार्य सुरु गरेको थियो। सोही दिन सुनसरीको भोक्राहा गाउँपालिका–८ अन्तर्गत हुलाकी राजमार्ग क्षेत्रमा ट्याङ्कर बेवारिसे अवस्थामा फेला परेको थियो। ट्याङ्करको ताल्चा काटिएको अवस्थामा भेटिएपछि घटनाको थप अनुसन्धान अघि बढाइएको थियो।
जिल्ला प्रशासनको रोहबरमा ट्याङ्करको सिल खोली नापजाँच गर्दा २० हजार लिटर पेट्रोलमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ। परीक्षणका क्रममा ट्याङ्करमा १९ हजार २७ लिटर पेट्रोल मात्र बाँकी रहेको पाइएको थियो।
निगमले बाँकी रहेको पेट्रोल सुरक्षित रूपमा आफ्नो भण्डारणमा राखेको जनाएको छ। साथै, पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ अनुसार चोरी भएको इन्धनको परिमाण बराबरको दोब्बर रकम सम्बन्धित ढुवानीकर्ताबाट असुल गरिएको निगमले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।