

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले करिब १९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो।
त्यस्तै, सोही अवधिमा २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत वर्षको तुलनामा १२.२८ प्रतिशतले वृद्धि हो। आयात र निर्यात दुवै बढे पनि आयातको दर बढी भएकाले वैदेशिक व्यापार घाटा १५.६७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।
समीक्षा अवधिमा सबैभन्दा धेरै डिजेल आयात भएको छ। ११ महिनामा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँ बराबरको डिजेल आयात गरिएको छ।
त्यस्तै, ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको ६ लाख ८५ हजार किलोलिटर पेट्रोल आयात भएको छ। सोयाबिन तेल र यसको कच्चा पदार्थको आयात १ खर्ब १९ अर्ब ६३ करोड २ लाख ७ हजार रुपैयाँ पुगेको छ।
निर्याततर्फ नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सोयाबिन तेल तथा यसको कच्चा पदार्थ निर्यात भएको छ भने १२ अर्ब १ करोड १४ लाख ८६ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
अन्य प्रमुख आयात वस्तुमा स्पन्ज आइरन ५३ अर्ब ६९ करोड रुपैयाँ बराबर (१ अर्ब २२ करोड किलोभन्दा बढी), एलपी ग्यास ५२ अर्ब २१ करोड रुपैयाँ बराबर (४७ करोड ५९ लाख किलो), तथा स्मार्टफोन ४३ अर्ब ४५ करोड रुपैयाँ बराबर (२० लाख ४१ हजार थान) रहेको विभागले जनाएको छ।
नेपालको वैदेशिक व्यापार संरचनामा अझै पनि आयात निर्भरता उच्च रहेको तथ्यांकले देखाएको छ।