

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आजदेखि सुरु हुने महाधिवेशनका लागि आवश्यक व्यवस्थापन, प्रतिनिधि छनोट तथा प्रतिवेदन तयारीका काम सम्पन्न भएको पार्टीले जानकारी दिएको छ।
शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको बताए। महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायतका तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ थियो।
महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।
प्रवक्ता झाले पार्टीले महाधिवेशनको व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको र ती उपसमितिमार्फत सबै तयारी सम्पन्न गरिएको जानकारी दिए। राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदनहरू तयार भइसकेको र केन्द्रीय समितिको बैठकले महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव समेत पारित गरिसकेको उनले बताए।
महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकले पार्टीको संगठनात्मक संरचनामा समेत महत्वपूर्ण संशोधन गरेको छ। सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार हालको १२१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने निर्णय गरिएको छ। प्रदेश सभापतिहरूलाई पदेन सदस्य बनाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
संशोधित विधानअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहने व्यवस्था गरिएको छ। साथै पदाधिकारी तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने प्रावधान पनि समावेश गरिएको छ।
विधान संशोधन प्रस्तावअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ५१ सदस्य पार्टी सभापतिले समावेशिताको आधारमा मनोनयन गर्नेछन् भने बाँकी ९९ सदस्य खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन्।
रास्वपाले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति निर्धारण तथा नयाँ नेतृत्व चयनलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। महाधिवेशनमा विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताए।
महाधिवेशनमा कुल ३ हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। त्यसमध्ये ३०० प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ। पार्टीले हाल सदस्य संख्या पाँच लाख पुगेको दाबी गरेको छ।
सचिवालय सदस्य हरि ढकालका अनुसार देशभरका ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने ४ हजार ६३ वडामा संगठनात्मक अधिवेशन गरिएको छ। साथै छ प्रदेश र ६४ जिल्लामा प्रतिनिधि छनोट प्रक्रिया पूरा भएको छ। मधेश प्रदेश तथा अधिवेशन हुन बाँकी १३ जिल्लाबाट भने तदर्थ समितिमार्फत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन्।