

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पवनदूत यातायातको सुपप्र ०२–००१ ख १३५५ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका २४ जनामध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ भने एक जनालाई थप उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल रेफर गरिएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार दुर्घटनाग्रस्त बसमा ३५ जना यात्रु सवार थिए।
प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।