

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति र मंगलबार बिहान सम्पन्न चारवटै खेल बराबरीमा सकिएका छन्। कुनै पनि टोलीले जित निकाल्न नसक्दा सबै खेलमा अंक बाँडिएको हो।
विश्व विजेता स्पेन समूह चरणको आफ्नो खेलमा नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकियो। अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्पेनले खेलभर दबाब बनाए पनि गोल गर्न सकेन। त्यसैगरी, बेल्जियम र इजिप्टबीचको प्रतिस्पर्धात्मक खेल १-१ गोलको बराबरीमा सकियो। दुवै टोलीले एक-एक गोल गर्दै अंक बाँडे।
साउदी अरेबिया र उरुग्वेबीचको खेल पनि १-१ को बराबरीमा टुंगियो। पहिलो हाफमा अग्रता बनाएको साउदीले त्यसलाई जोगाउन नसक्दा उरुग्वेले दोस्रो हाफमा गोल फर्काएर अंक सुरक्षित गर्यो।
यस्तै, लस एन्जलसमा सम्पन्न समूह ‘जी’ को खेलमा इरानले दुईपटक पछाडि परे पनि उत्कृष्ट पुनरागमन गर्दै न्युजिल्यान्डसँग २-२ को बराबरी खेलेको छ। चारवटै खेल बराबरीमा सकिएसँगै सम्बन्धित समूहहरूको प्रतिस्पर्धा थप रोचक बनेको छ।