

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ। मेक्सिकोको मोन्टेरे स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा स्वीडेनले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित दर्ता गरेको हो।
खेलको ७औँ मिनेटमै यासिन अयारीले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए। ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मिएका अयारीले गोलपछि भने उत्सव भने मनाएनन्।३०औँ मिनेटमा अलेक्जेन्डर इसाकले उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे। भिक्टर ग्योकेरेसको पासमा उनले डिफेन्डरहरूलाई छक्याउँदै सुन्दर फिनिसिङ गरेका थिए।
तर ४३औँ मिनेटमा ओमार रेकिकले हेडमार्फत गोल गर्दै ट्युनिसियालाई खेलमा फर्काउने प्रयास गरे। दोस्रो हाफमा स्वीडेनले थप दबाब बढायो। ५९औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै अग्रता ३–१ बनाए। त्यसपछि ८६औँ मिनेटमा माथियस स्भानबर्गले गोल थपे। प्रारम्भमा अफसाइड घोषित भए पनि भिडियो सहायक रेफ्री (VAR) को पुनरावलोकनपछि गोल मान्य गरिएको थियो।
इन्जुरी समयको छैटौँ मिनेटमा यासिन अयारीले व्यक्तिगत दोस्रो गोल गर्दै स्वीडेनको जित ५–१ ले सुनिश्चित गरे। जितसँगै स्वीडेनले समूह ‘एफ’ मा तीन अंक जोडेको छ। यस समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै एक–एक अंक बाँडेका थिए भने ट्युनिसिया अंकविहीन बनेको छ।