

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको मियामी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा साउदी अरेबियाले पहिलो हाफमा अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन।
खेलको ४१औँ मिनेटमा अब्दुलेलाह अल अमिरीले गोल गर्दै साउदी अरेबियालाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफ यही नतिजामा सकिएको थियो। दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको उरुग्वेले ८०औँ मिनेटमा सफलता पायो। म्याक्सिमिलियानो अराउजोले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा पुर्याए।
बाँकी समयमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो। यो नतिजासँगै साउदी अरेबिया र उरुग्वेले प्रतियोगितामा एक–एक अंक जोड्न सफल भएका छन्।