विश्वकप समूह ‘जी’ मा इरान र न्युजिल्यान्डले अंक बाँडे

विश्वकप समूह ‘जी’ मा इरान र न्युजिल्यान्डले अंक बाँडे

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरानले दुईपटक पछाडि परे पनि उत्कृष्ट पुनरागमन गर्दै न्युजिल्यान्डसँग २-२ को बराबरी खेलेको छ। मंगलबार बिहान लस एन्जलस स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका छन्। बराबरीसँगै इरान र न्युजिल्यान्ड समूह ‘जी’ को शीर्ष दुई स्थानमा रहेका छन्।

खेलको सातौँ मिनेटमा एलिजाह जस्टले गोल गर्दै न्युजिल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। तर इरानले ३२औँ मिनेटमा रामिन रेजाइनमार्फत गोल फर्काउँदै खेल १-१ को बराबरीमा ल्यायो। पहिलो हाफ यही बराबरीमा सकिएको थियो। दोस्रो हाफमा एलिजाह जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः अग्रता दिलाए। उनको गोलसँगै न्युजिल्यान्ड २-१ ले अघि बढेको थियो।

तर इरानले हार मानेन। खेलको ६३औँ मिनेटमा मोहम्मद मोहेबीले हेडमार्फत गोल गर्दै टोलीलाई पुनः बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि थप गोल निस्कन नसक्दा खेल २-२ को बराबरीमा सकियो।