मन्त्री अनुपस्थितिको विरोधमा सांसद रोस्टममै उभिएपछि प्रतिनिधि सभा बैठक स्थगित

मन्त्री अनुपस्थितिको विरोधमा सांसद रोस्टममै उभिएपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा मन्त्रीहरूको अनुपस्थितिप्रति आपत्ति जनाउँदै सांसद राजेन्द्र राई रोस्टममै उभिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सोमबार प्रतिनिधि सभामा नौ वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको थियो। छलफलका क्रममा सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई बोल्न १० मिनेट समय दिएका थिए।

रोस्टममा पुगेपछि सांसद राईले मन्त्रीहरू उपस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरूको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरे। “म के भनूँ? अस्ति पनि अर्थमन्त्री हुनुहुन्नथ्यो। मैले मन्त्री चाहियो भनेको थिएँ,” उनले सभामुखलाई सम्बोधन गर्दै भने।

उनले नौ मन्त्रालयको बजेटमाथि छलफल भइरहेका बेला केवल दुई मन्त्री मात्र उपस्थित रहेको उल्लेख गर्दै यस्तो अवस्थामा बोल्नुको अर्थ नहुने बताए। “आज पनि नौ मन्त्रालयको बजेटमाथि छलफल छ, तर दुई मन्त्री मात्रै छन्। म के गरूँ? मन्त्री त चाहिन्छ। नौ मन्त्री त अनिवार्य चाहियो नि। खै मन्त्री?” राईले भने।

त्यसपछि उनी रोस्टममै उभिएर मौन बसे। सभामुख अर्यालले पटकपटक बोल्न आग्रह गरे पनि सांसद राईले मन्त्रीहरू उपस्थित नहुँदासम्म नबोल्ने अडान दोहोर्‍याए। “विधिअनुसार मन्त्री उपस्थित हुनुपर्छ,” उनले भने, “म यहीँ बसिदिन्छु।”सांसद राईले रोस्टम नछाडेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।