कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन, विराटनगरमा भेला सुरु

कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन, विराटनगरमा भेला सुरु

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा भेला सुरु गरेको छ। पार्टीभित्र दबाब सिर्जना गर्न र विशेष महाधिवेशनपछि देखिएका संगठनात्मक कमजोरी सुधार गर्ने उद्देश्यसहित यो भेला आयोजना गरिएको हो।

भेलालाई इतर समूहले ‘शक्ति प्रदर्शन’का रूपमा लिएको छ। कार्यक्रममा नेताहरू डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार सहभागी छन्। कोशी प्रदेशका १४ वटै जिल्लाबाट अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए।

महामन्त्री राईले पार्टीभित्र विभिन्न गुट–उपगुटका कारण संगठन कमजोर बनेको भन्दै नेतृत्वले कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाए। उनले भने, “हामी कुनै व्यक्ति वा गुटको स्वार्थका लागि भेला गरेका होइनौँ। कोइराला, देउवा वा सिटौला समूहभन्दा माथि उठेर कांग्रेसलाई एकताबद्ध बनाउन दबाब समूहका रूपमा प्रस्तुत भएका हौँ।”

इतर समूहले हाल जारी क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति पनि असन्तुष्टि जनाउँदै आएको छ।